विराटनगर / नेकपा माओवादी केन्द्र प्रदेश १ ले स्थानीय सरकारको चुनावी तयारीका लागि प्रदेश १ का १४ जिल्लालाई  ५ भागमा विभाजन गरी चुनावी कमान्डर तोकेको छ  । पार्टीका केन्द्रीय नेताहरूलाई आसन्न निर्वाचनमा विजयी गराउने उद्देश्य सहित कमान्डर तोकेको हो ।

निर्वाचन लक्षित चुनावी नारा ‘समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार’ लाई लिएर दुई महिने अभियान समेत थालिएको माओवादी केन्द्र प्रदेश १ ले जनाएको छ ।

OM Sai Pathibhara Hospital

माओवादी केन्द्रले ताप्लेजुङ , पाँचथर र इलामको कमान्डर केन्द्रीय सदस्य तथा प्रदेश १ सरकारका आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोलाई बनाएको छ ।

त्यसैगरी झापा, मोरङ र सुनसरीको कमान्डर केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेलाई बनाएको छ भने धनकुटा, तेह्रथुम सङ्खुवासभाको कमान्डर केन्द्रीय सदस्य हेमराज भण्डारीलाई बनाएको छ ।

भोजपुर-खोटाङको जिम्मा केन्द्रीय सदस्य अजम्बर काङमाङलाई दिएको छ भने केन्द्रीय सदस्य सुरेशकुमार राई उदयपुर, ओखलढुंगा र सोलुखुम्बुको कमान्डर तोकिएका छन् ।