बुटबल / स्थानीय तहको निर्वाचन नजिकिएसँगै कांग्रेसमा सत्तारुढ गठबन्धनका दलसँग मिलेर चुनावमा जाने बहस भइरहेका बेला लुम्बिनी प्रदेशका कांग्रेस नेताहरू भने गठबन्धनको विपक्षमा उभिएका छन् । 

OM Sai Pathibhara Hospital

गठबन्धन गरेर चुनावमा जाँदा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई फाइदा भएपनि कांग्रेसलाई घाटा हुने भन्दै उनीहरू गठबन्धनकाे विपक्षमा उभिएका हुन् ।  

संस्थापनइतर समूहमा रहेका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले कांग्रेस एक्लै चुनावमा जाने बताएका छन् । 

पुनले भने, –‘कार्यकर्ताको भावना विपरित गठबन्धन गरिए त्यो कांग्रेसकै निम्ति दुर्भाग्य हुन्छ, हामीले केन्द्रबाट गर्ने गठबन्धनको निर्णय स्वीकार्न सक्दैनौँ ।’ उनले गठबन्धनको निर्णय पार्टीको स्थानीय कमिटीलाई दिनुपर्ने तर्क गरे । 

कांग्रेस रूपन्देही उपसभापति डा. अनिता शाहले पनि निर्वाचन सम्भाव्यता अध्ययनका क्रममा अधिकांश कार्यकर्ताको मत गठबन्धनको विपक्षमा रहेको बताइन् । 

तर, लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा भने स्थानीय कमिटीको निर्णयका आधारमा आगामी स्थानीय तहमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपाबीच गठबन्धन गर्ने सहमति भएको छ।

कांग्रेसले अहिले लुम्बिनी प्रदेशमा पालिकाहरूमा चुनाव केन्द्रित रणनीति बनाइरहेको छ। कांग्रेस नेता फणिन्द्र शर्माले गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा कार्यकर्ताको मनोभावना बुझेपछि थाहा हुने बताएका छन् ।