काठमाडौँ / बेलायत सरकारले १९८० देखि १९९० को दशकमा नेपालबाट हराएका प्राचीन मूर्ति मध्येका दुई मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ ।
नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच लन्डन मेट्रोपोलिटन प्रहरीका डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले राजदूत ज्ञानचन्द्र आचार्यलाई मूर्ति हस्तान्तरण गरेका हुन् ।
सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौँको हनुमानढोका कुमारी बहालबाट हराएको थियो भने १८औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाडौँको ओमबहालस्थित मञ्जुश्री मन्दिरबाट हराएको थियो ।
गैरकानूनीरूपमा प्राचीन सामग्री ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट लन्डन महानगरीय प्रहरीले ति मूर्ति बरामद गरेको हो ।
गृह मन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो ।
डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बरामद गरिएका प्राचीन सामग्री फिर्ता गर्न पाउँदा खुसी लागेको बताए ।
ग्लास्गो युनिभर्सिटीमा अपराधविज्ञानकी प्राध्यापक डा. इमिलिन स्मिथले नेपाललाई ति सांस्कृतिक वस्तु फिर्ता गर्ने कार्यमा संलग्न हुन पाएकामा गर्व लागेको बताइन् ।