काठमाडौं / नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भएको छ ।
गणतन्त्र सिसेल्सको भ्रमणमा रहेएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्काले गरेका द्विपक्षीय भेटवार्तामा दुई मुलुकबीच श्रम सम्झौता गर्ने सहमति भएको हो ।
रोजगार तथा सामाजिक मामिलामन्त्री फ्यानकोटसँगको भेटवार्तामा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुङ्गोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि नेपाली कामदार लैजान सिसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिँदै सिसेल्ससँग द्विपक्षीय श्रम सम्झौता गर्न नेपाल तयार रहेको बताएका थिए ।
न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिक लगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्ती लगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्ने बताइएको छ ।