बिर्तामोड / व्यापार घाटा चुलिएर अर्थतन्त्र नै सङ्कटमा फसेका बेला मनोरञ्जनका लागि उपयोग हुने कम उपयोगी बस्तुको आयातमा अर्बौँ रुपैयाँ बाहिरिएको तथ्याङ्क सार्वजनिक भएको छ ।
फागु पूर्णिमाका लागि आवश्यक रङ्ग सहितका सामाग्री आयातका लागि मात्रै मुलुकबाट दुई अर्ब भन्दा बढि रुपैयाँ विदेशिएको हो । व्यापार घाटा कम गर्न सरकार र अन्य सरकारी निकायले चासो देखाउँदै कोसिस गरिरहेका बेला सार्वजनिक भएको पछिल्लो तथ्याङ्कले नागरिक समेत जागरुक अनि सचेत नहुने हो भने व्यापार घाटा कम गर्न कठिन रहेको अनुमान गर्न थालिएको छ ।
अर्थ मन्त्रालय मातहतको भन्सार विभागको तथ्याङ्कले चालु आर्थिक वर्षको सात महिना अर्थात माघ महिना सम्मको अवधिमा करिब २ अर्ब रुपैयाँको रङ्ग आयात भएको देखाएको छ । भारत सहित विश्वका विभिन्न मुलुकबाट १ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको रङ्ग आयात भएको छ ।
वार्षिक दुई अर्ब भन्दा बढीको रङ्ग आयात हुँदै आएको नेपालमा रङ्ग उत्पादनमा भने सरकारी निकाय र निजी क्षेत्र दुवै उदासिन रहेका छन् । आयात घटाउन बस्तुको पहिचान गरी उत्पादन बढाउनका लागि सरकारले निती नबनाउँदा व्यापार घाटा हरेक वर्ष उकालो लाग्दै गएको छ ।
नेपालमा आयात भएको रङ्ग मध्ये भारतबाट मात्रै साउनदेखि माघ महिनासम्ममा १ अर्ब १८ करोड रुपैयाँभन्दा बढिको रङ्ग आयात भएको छ । भारत पछि चिनबाट ठूलो परिणाममा रङ्ग आयात हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ को सात महिना अवधिमा १ अर्ब ७६ करोड रुपैयाँको मात्रै रङ्ग आयात भएको थियो । कोरोना महामारीका कारण भिडभाड र होली पर्व मनाउन सरकारले रोक लगाएकाले अघिल्लो वर्ष यस आर्थिक वर्ष भन्दा कम परिणाममा आयात भएको थियो ।
गत आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ४८ करोड रुपैयाँको , आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब १ करोड रुपैयाँको र २०७४/७५ मा ३ अर्ब २७ करोड रुपैयाँको रङ्ग आयात भएको थियो ।
नेपालमा भारत र चिन बाहेक बंगलादेश, मलेसिया, ताइवान, नेदरल्याण्डस्, बेल्जियम, थाइल्याण्ड, स्विट्जरल्याण्ड, स्पेन, मेक्सिको, अमेरिका, बेलायत र जर्मनीबाट समेत रङ्ग आयात हुने गरेको छ ।