झापा / रामेछापको मन्थली नगरपालिका-६ मा दलित महिलालाई बन्धक बनाएर यातना दिइएको छ । दही चोरेको आरोपमा मन्थली नगरपालिकाकी १२ वर्षीया बालिकालाई स्थानीय चिउरीपानीका ६३ वर्षीय शेरबहादुर श्रेष्ठको परिवारले यातना दिएका हुन् ।
मंगलबार दिउँसो बालिकाको उद्धार गरिएको रामेछापका डीएसपी राजकुमार थिङले रातोपाटीलाई बताए । फागुन ३० मा दिउँसो साढे ४ बजेबाट बालिकालाई दलानको थाममा बाँधेर श्रेष्ठ परिवारले यातना दिएका हुन् । बालिका बन्धक बनाउने शेरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित परिवारले श्रेष्ठ विरुद्ध अपहरण गरेर शरीर बन्धक बनाएको कसुरमा जाहेरी दिएका छन् । जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको डीएसपी थिङले जानकारी दिए । मन्थली नगरपालिका-६ चिउरीपानीस्थित श्रेष्ठको घरबाट प्रहरीले बालिकालाई उद्धार गरेर सदरमुकाममा ल्याएको थियो ।
घरभित्र पसेर चोरी गरेको आरोपमा श्रेष्ठका परिवारले हात पछाडि बाँधेर शरीर थाममा बाँधेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बन्धक बनाएको थाहा पाएपछि मन्थली-६ का अध्यक्ष गोपाल माझीले प्रहरीलाई खबर गरेका थिए ।