झापा / काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीमा बुधबार बिहान मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक  धादिङ घर भई हाल नागार्जुन नगरपालिका-१ रानीवन बस्ने ३५ वर्षीय हरि दुवाडी रहेका छन् ।  स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार बिहान सवा ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवाडीले चलाएको बा ४९ प ६१२३ नम्बरको स्कुटर र बा ८५ प ५०६० नम्बरको मोटरसाइकल बुधबार बिहान सवा ६ बजे ठोक्किएका थिए । मोटरसाइकल सहित चालक प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा रहेका छन् ।
यस्तै  नवलपरासी बर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिका-१५ धौलागिरी चोकमा बुधबार बिहान बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बसमा सवार रूपन्देही खैरेनी सुर्यापुरा गाँउपालिका-३ की ३७ वर्षीया मायादेवी पाण्डे रहेकी छन् ।
गम्भीर घाइते भएकी पाण्डेको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा बुधबार बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका बसमै सवार मायादेवीका श्रीमान् ४२ वर्षीय मणिराम पाण्डेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
४२ जना यात्रु लिएर काठमाण्डौबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ४३१९ नम्बरको बस विपरीत दिशाबाट आँउदै गरेको ना ६ ख १७२१ नम्बरको ट्रकसँग बुधबार बिहान पौने ६ बजे ठोक्किएका थियो ।