बिर्तामोड / मोरङमा एक जना पत्रकार, दुई जना युट्युबर सहित सहित ११ जनालाई प्रहरीले पक्राउ छ । सर्वसाधारणले गरिरहेको प्रदर्शनको भिडियो खिचेको भन्दै मोरङ प्रहरीले एक जना पत्रकार, दुई जना युट्युबर सहित ११ जनालाई पक्राउ गरेको हो ।
मोरङको सुन्दर हरैंचा-७ की डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयबासीले राजमार्ग चक्काजाम गरेका थिए ।
त्यसैक्रममा भिडियो खिच्ने पत्रकार सम्झना राई र अन्य दुई जना युट्युबर सहितका गाउँलेलाई प्रहरीले मंगलबार साँझ गछियाबाट पक्रेर रातभर हिरासतमा थुनेको हो । पत्रकार राई पूर्वी कमाण्ड अनलाइनकी पत्रकार हुन् ।
सर्वसाधारणले प्रदर्शन गरिरहेको ठाउँमा भिडियो खिच्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई रातभर प्रहरी हिरासतमा राखेको गाउँलेले बताएका छन् ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी मन्जिल मुकारुङले ११ जना पक्राउ परेको भन्दै उनीहरू सबैको पहिचान भइनसकेको बताए। प्रहरीले उनीहरूलाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ ।
नाबालिकाको केही दिनअघि बलात्कारपछि हत्या भएको थियो । हत्या आरोपीहरू पक्राउ परे पनि स्थानीय आन्दोलित छन् ।
प्रहरी स्रोतले भने पक्राउ परेका पत्रकार र युट्युबरले पीडित परिवारको पहिचान खुलाएको आरोप लगाएको छ ।
ती पत्रकारले बलात्कार पीडित नाबालिकाको परिवारका बुवाआमाको नामै किटेर समाचार सामग्री बनाएको प्रहरीको दाबी छ ।