काठमाडौं / आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ ।
प्रहरी प्रधान कार्यालयले स्थानीय तहको चुनावका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्न आवेदन मागेको हो ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागले सार्वजनिक सूचना मार्फत सो जानकारी दिएको हो ।
इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म आवेदन दिन सक्नेछन् । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन पाउने सूचनामा उल्लेख छ ।
कार्यालयले यही चैत १५ गते म्यादी प्रहरीको छनोट थाल्नेछ । म्यादी प्रहरीको अन्तिम नतिजा चैत २२ गते प्रकाशन हुनेछ भने सेवाको अवधि ४० दिनको हुनेछ ।
म्यादीमा भर्ना हुन नेपाली नागरिक, फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको कार्यकर्ता नरहेको, शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको र साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ ।
म्यादी प्रहरीले ३० हजार २ सय ४० रुपैयाँ तलब, खाद्यान्न बापत ७ हजार २ सय रुपैयाँ र पोसाक बापत ६ हजार रुपैयाँ पाउने सूचनामा उल्लेख छ ।
चुनावमा खटिनु अघि उनीहरूले बाटो खर्च स्वरूप १ हजार रुपैयाँ पाउनेछन् । सरकारले उनीहरूको बीमा गरिदिने पनि सूचनामा उल्लेख छ ।