सङ्खुवासभा / बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई सङ्खुवासभाको मादी नगरपालिकाले जनही एक लाख रुपैयाँ दिने भएको छ । मादी नगर कार्यपालिकाले बिहीबार भएको बस दुर्घटनाका मृतक १५ जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने नगरप्रमुख विदुरकुमार लिङ्थेपले जानकारी दिएका छन् ।
मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
बस दुर्घटनाका घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रमुख सुब्बाले बताएका छन् ।