काठमाडौं / सरकारले आजदेखि सवारी चालक अनुमतिपत्र ( स्मार्ट ड्राइभिङ लाइसेन्स) को वितरण प्रणाली आवेदन बन्द गरेको छ । 

वितरण प्रणालीमा अधिक चाप परेपछि आजदेखि अनिश्चितकालका लागि नयाँ आवेदन लिन बन्द गरेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

घिमिरेका अनुसार आवेदकको संख्या ५ लाख ७२ हजार पुगेपछि आवेदन प्रणाली बन्द गरिएको हो । 

हालसम्मका निवेदकको परीक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले यस्तो कदम चालिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । 

अहिले विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरूले समयमै सही तरिकाले परीक्षा गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको बसभन्दा बाहिर पुगेको छ ।

यसअघि कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए । ६ महिना बन्द गरेर गत ९ कात्तिकदेखि लाइसेन्सको आवेदन लिन थालिए थियो ।