झापा / भ्रष्टाचारको  अभियोग लागेका सर्लाहीका एक नेता कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका छन् । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका सर्लाहीका सुरेन्द्रप्रसाद सिंह आइतबार कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

आइतबार सम्पन्न कांग्रेसको जिल्ला अधिवेशनमा सिंहले  प्रतिस्पर्धी लक्ष्मण रायलाई ३ सय ८० मतान्तरले पराजित गर्दै जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । सिंहले १ हजार ७ सय ५८ मत प्राप्त गरेका छन्भने उनका प्रत्यासी रायले १ हजार ३ सय ७८ मत प्राप्त गरेका छन्। सिंह यसअघि कांग्रेस सर्लाहीको उपसभापति थिए ।

OM Sai Pathibhara Hospital

सिंह विरुद्ध सर्लाहीको मनसुरा सिँचाइ आयोजना वरपरका करिब १८ हजार सालका रूख कटान गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यद्वय भूपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीको इजलासले २०७१ पुसमा सिंहलाई दोषी ठहर गरेको थियो । उनलाई विशेष अदालतले १ करोड २३ लाख रुपैयाँ जरिवाना र ९ महिना कैद सजाय तोकेको छ । अहिले यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । 

राजनैतिक पहुँचका भरमा अभियोग प्रमाणित भएका व्यक्तिले चुनाव जितेर सार्वजनिक पदमा पुग्नु नौलो घटना होइन । पार्टीको आन्तरिक राजनीतिमा अभियोग प्रमाणित भएका व्यक्ति समेत सार्वजनिक पदमा पुग्ने गरेका छन् ।

सभापतिमा पराजित रायले आफूविरुद्ध सत्ता, शक्ति र पैसा प्रयोग भएको बताए । ‘म त किसानको छोरा, जीवनभर निष्ठा र आदर्शको राजनीति गरेँ । अहिले अदालतबाट भ्रष्ट प्रमाणित व्यक्तिसँग चुनाव हार्दा दुःख लागेको छ,’ पार्टीका पूर्व जिल्ला सभापति रहेका उनले भने, ‘माथि सरकार उसैको छ, (निर्वाचन समिति) पनि उसैको छ, अनि मैले कसरी चुनाव जित्नु रायले बताए ।