झापा / सिन्धुलीको दुधौली नगरपालिका-५ ठाकुरखोला ३ नम्बर पुलमा आइतबार साँझ जन्ती सवार टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा २४ जना घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । हिजो साँझ सवा ८ बजे, बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना३ख ७४९० नम्बरको टिपर अनियन्त्रित भई सडकमै पल्टिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका-२ का १९ वर्षीय दिपेन्द्र कुमार र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो । गम्भीर घाइते चार जनालाई थप उपचारका लागि काठमाडौं लगीएको छ ।
अन्य घाइतेहरूको विराटनगर, कटारी र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ । बेहुला-बेहुली भने अर्कै गाडीमा सवार रहेकाले सुरक्षित छन् ।