काठमाडौं / प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ । संसदको जारी दशौँ अधिवेशनको ११औँ बैठक आज बस्न लागेको हो ।

बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ । संसद् सचिवालयले आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले (सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन, २०७८) पेस गर्ने सम्भावित कार्यसूची रहेको जनाएको छ ।

OM Sai Pathibhara Hospital

यस्तै, आजको बैठकले संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको यसअघिको बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको छ । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा संसद्मा अवरोध गरिरहेको एमाले पनि सहभागी छ ।

जारी अधिवेशनको पहिलो बैठकदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा अवरोध गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने एमालेको माग छ। सभामुखले भने अवरोधकै बीच बैठकका काम कारबाही अघि बढाउँदै आएका छन् ।