झापा / दाङका निर्माण व्यवसायी अनुप पाण्डे काठमाडौंबाट पक्राउ परेका छन् ।
डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको काँडाघारीबाट शनिबार पक्राउ गरेको हो ।
पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बताए ।
घोराही उपमहानगरपालिका-१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिबाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका तुलसीपुर उपमहानगरपालिका-८ अश्वारका ३० वर्षका पाण्डेले सवारी साधन प्रयोग गरी भाडा बापतको रकम एक करोड ४४ लाख १७ हजार ७७६ रुपैयाँ दिनुपर्ने व्यवसायी गेहेन्द्र बस्नेतले बताएका छन् ।
तर पाण्डेले दिएको सानिमा बैंकको एक करोड आठ लाख ५७ हजार ७७६ रुपैयाँको चेक बाउन्स भएपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।