बिर्तामोड / भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले ठुलो परिमाणमा औषधी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार बेलुकी झापाको बुद्धशान्ति गाउपालिका बुधबारेबाट ७७ लाख ७७ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ । 

प्रहरीले बरामद गरेको औषधी, औषधी ब्यवस्था विभाग पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिए । मे १ च ६८३३ नम्बरको पिक अपमा हालेर ल्याउँदै गर्दा १४ वटा बोरामा लोड गरिएको अवस्थामा औषधी फेला परेको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

इलामको पशुपतिनगरको हिले नाकाबाट नेपाल भित्र्याएको औषधी झापा प्रहरीले झापा र इलामको सिमानाबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले औषधी ढुवानीमा प्रयोग भएको सवारी साधन र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । पिक अप चालक इलामको सुर्याेदय नगरपालिका ३ का सइन्द्र राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । हाल उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरिक्षक पाठकले जनाए । 

हिले नाकाबाट प्रत्येक महिना ५ करोड मूल्यको औषधी नेपाल भित्रिने स्रोतको दावी छ । ति औषधी बिर्तामोडका बिभिन्न ट्रान्सपोर्टबाट काठमाण्डौसम्म पुर्याउने गरिएको छ । यसअघि कार्तिक महिनामा पनि सोही परिमाणको औषधी प्रहरीले बरामद गरेको थियो । झापाका प्रहरी नायब उपरिक्षक पाठकले एउटा पिक अप र त्यसका चालक पक्राउ गरिएको बताए ।