काठमाडौं / देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा रहेको छ ।  अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि समेत भैरहवा (रुपन्देही) मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइएको हो । 

७२ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय स्तरको बनाइएको गौतमबुद्ध विमानस्थल जेठ २ गते (बुद्ध पूर्णिमा)देखि सञ्चालनमा ल्याउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बताएका छन् । 

OM Sai Pathibhara Hospital

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा हवाई पूर्वाधारको अर्को फड्को मार्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने समेत महानिर्देशक अधिकारीले बताएका छन । मौसम खराबीको अवस्थामा काठमाडौँ विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान समेत गरिएको छ ।

करिब पाँच वर्षपछि व्यावसायिक रुपमा सञ्चालनमा आउन लागेको विमानस्थलमा दुवै चरणमा गरी करिब रु २२ अर्ब खर्च भएको छ भने चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको प्राधिकरणले जनाएको छ । 

द्धमार्गीको बाहुल्यता भएका मुलुक चीन, जापान, कोरिया, भियतनाम, श्रीलङ्का लगायत मुलुकबाट लुम्बिनी आउने पर्यटक अन्तर्राष्ट्रिय उडान हुनासाथ दुई गुणा वृद्धि हुने लुम्बिनी विकास कोषले प्रक्षेपण गरेको छ । नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाँईले बुद्धिस्ट पर्यटक आकर्षण गर्न गौतमबुद्ध विमानस्थलको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

प्राधिकरणले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ४१ दिनपछि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको सूचना प्रकाशित गरेको छ । प्राधिकरणले अप्रिल २१ देखि विमानस्थलले अन्तर्राष्ट्रिय उडानको मान्यता पाउने जनाएको छ । 

विमानस्थल उडानका लागि योग्य भएसँगै उडान गर्न चाहने एयरलाइन्स कम्पनीहरूलाई उडानका लागि ‘एप्रोच’ गर्न विमानस्थलको सबै विवरण सहितको प्रकाशन जारी गरेको छ । प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार अहिले पाल एयरलाइन्स, जजिरा एयर र थाइ स्माइल गरि तीन एयरलाइन्सले उडानका लागि इच्छा देखाएका छन् ।