काठमाडौँ / उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद् बैठकले बिहीबार श्रेष्ठको नाम सिफारिस गरेको हो ।

अब संसदीय सुनुवाइबाट अनुमोदन भएपछि श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको न्यायाधीश नियुक्त गर्नेछिन् । प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी रहेको सर्वोच्च अदालतमा एक पद रिक्त थियो । परिषद्ले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।