काठमाडौं / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले भिजिट भिसामा दुबई र मलेसिया हिँडेका २३ जनालाई शंकास्पद यात्रा भन्दै फर्काएको छ । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद यात्रा भन्दै उनीहरूलाई प्रस्थान अनुमति दिन अस्वीकार गरेको हो ।
अध्यागमनले दुई दिनको अवधिमा (२४ र २५ फागुनमा) २३ जनालाई शंकास्पद यात्रा भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमनका अधिकारीले बताए ।
मानव तस्करले जथाभावीरुपमा भिजिट भिसामा सर्वसाधारणहरूलाई लैजान थालेपछि गृहमन्त्रालयले कडाइ गर्न थालेको छ । अध्यागमनका अधिकारीहरूले शंकास्पद कसैलाई पनि प्रस्थान अनुमति दिएका छैनन् ।
फिर्ता हुनेहरूमा दुबई हिँडेका काठमाडौंका शैर्थ कोइराला, प्रकाश कोइराला र सात्विक कोइराला, लमजुङका आशिषनाथ अधिकारी ,ठेगाना नखुलेका सबनम खातुन र आयात प्रवीन, ललितपुरकी प्रगति दाहाल, झापाका मनबहादुर पुरी, काठमाडौँकी सितल दाहाल, ओखलढुङ्गाकी गीता दाहाल, लमजुङका रविन्द्र श्रेष्ठ, काठमाडौंका सुशान्त चन्द्र धुन्जु श्रेष्ठ र तनहुँका दिपक राई रहेका छन् ।
यस्तै, दुबई जाने तयारीमा रहेका अर्घाखाँचीका सिवालाल पाण्डे, भक्तपुरका डेभेन्द्र खड्का,म्याग्दीका पुर्णबहादुर गरबुजा, अर्का गुरभिन्डर सिंह,बागलुङकागज गजेन्द्र शेरचन,काठमाडौंका सुनिल प्रधान, पाँचथरका गंगा माया बानियाँ, रौतहटका प्रिन्सेस जैसवाल र सुनसरीका रामे सुनवारलाई शंकास्पद यात्रु भन्दै प्रस्थान अनुमति नदिएको हो ।
उनीहरु धेरैजसोले भिजिट भिसामा दुबई जाने तयारीमा रहेको तर गृहमन्त्रालयको मापदण्डअनुसार कागजात अध्यागमनका अधिकारीसमक्ष पेश गर्न नसकेपछि प्रस्थान अनुमति पाएनन् ।
केहीले भने गृहमन्त्रालयको मापदण्ड पनि पालना नगरेको, साथमा नाबालक लिएको तर अभिभावकको सहमति खुलाउने कागजात नभएकाले प्रस्थान अनुमति नदिएको अध्यागमनका अधिकारीले बताए ।
यस्तै, मलेसिया हिँडेका मोरङका परशुराम चौधरीले पनि अध्यागमनका अधिकारीसमक्ष श्रमस्वीकृति पेश गर्न नसकेपछि प्रस्थान अनुमति नदिएको अध्यागमनले बताएको छ ।