झापा / नेकपा (एमाले) निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नबौं महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा सभागृहमा  उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेसनमा भाग लिन देशभरका प्रतिनिधि पोखरा आइसकेका छन् भने केही आउने क्रम जारी रहेको चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले बताए ।

महाधिवेशनको सबै तयारी पूरा भैसकेको उनले बताए । प्रेस चौतारी नेपालको आयोजना र कास्की जिल्लाको आतिथ्यमामा महाधिवेसन पोखरामा हुन लागेको हो । महाधिवेशनमा १ हजार ५० जना प्रतिनिधि, सल्लाहकार पोखरा आउने आवास व्यवस्थापन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले बताए ।

OM Sai Pathibhara Hospital

‘होटल व्यवस्थापन भैसक्यो । ५५ वटा होटलका ५ सय ५० रुम खोजेका छौं,’ उनले भने, ‘अधिकांश प्रतिनिधि आइसक्नु भएको छ । केही आउँदै हुनुहुन्छ । पोखराले न्यानो आतिथ्यता गरेर फर्काउने छ ।’

यो महाधिवेशनलाई अविस्मरणीय बनाउने गरी तयारीमा जुटेको श्रेष्ठले बताए । यो महाधिवेशनले संशोधित विधान पास गर्नेछ भने नयाँ नेतृत्व चयन गरेर सकिनेछ  । 
चौतारीमा अध्यक्ष सहित ३ उपाध्यक्ष, महासचिव १, उपमहासचिव २ र सचिव १० जना सहित केन्द्रीय समिति १ सय ४९ सदस्यीय रहने प्रस्ताव छ । तर अझै ९९ सदस्यीय बनाउन छलफल चलिरहेको छ । अहिले भने ४ सयको हाराहारीमा केन्द्रीय कमिटी छ ।

नयाँ विधान बन्दसत्रमा प्रस्तुत हुन्छ । देशभरकै जिल्लाहरू, सात भूगोल तथा उपत्यका, एसोसिएट र प्रतिष्ठानका ३ गरी १० वटा प्रदेशमा सहमतिमै नेतृत्व चयन गरिसकिएको छ । यसअघि माघ तेश्रो साता हुने भनिएको महाधिवेशन कोभिडको ओमिक्रोन भेरियन्टका कारण एक महिनापछि धकेलिएको हो । महाधिवेशनका लागि मूल व्यवस्थापन समिति अन्तर्गत कास्कीमा १९ वटा उपसमिति गठन भएको छ ।