चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विस्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत सकिएको जनाएको छ । अस्थायी रुपमा काठमाडौँमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको पत्रकारसँग मुहानस्थलमा कुराकानी गर्दै कुँवरले जानकारी दिए ।
गेट नम्बर ३८ मा हाइड्रोलिक सिस्टम बिग्रिएकाले यसमा थप मर्मतको काम सुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायी रुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्ने गरी तयारी थालिएको उनले बताए । मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौँ पठाउन सकिने समितिले जनाएको छ ।
असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको सपना पर धकेलिएको छ । आगामी चैतसम्म काठमाडौँ उपत्यकामा १७ करोड लिटर पानी दैनिकरूपमा वितरण गर्ने समितिको लक्ष्य छ तर वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको कुँवरले बताए ।
मुख्य प्रवेशमार्गमै ठूलो पहिरो गएकाले एसियन विकास बैंक (एडीबी)ले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको उहाँले जानकारी दिए । सुरुङमा थुपारिएको ६० हजार मेट्रिक टन गेग्रान माटो हटाइसकिएको जनाउँदै कुँवरले ब्लाष्टिङको काम अन्तिम चरणमा पुगेको बताए । ब्लाष्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको उनले जानकारी दिए ।