काठमाडौं / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएका छन् । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिएको गुनासो आएपछि मन्त्री श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन् ।

अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठले बताएका छन् । सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा श्रमिकलाई दुःख दिएको गुनासो आएको थियो ।

OM Sai Pathibhara Hospital

विमानस्थलमा श्रमिकहरूका लागि यसअघि अर्को दर्जा जसरी छुट्टै गेटबाट प्रवेश दिने गरिएकोमा अब जुनसुकै गेटबाट पनि प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ । विमानस्थलमा श्रमिकहरूको समस्यालाई समाधान गर्दै जाने प्रतिवद्धता पनि मन्त्री श्रेष्ठले जनाएका छन् । 

श्रमिकको प्रस्थानलाई छिटोछरितो बनाउन ३ वटै गेटबाट प्रवेश पाउने विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताका छन् । मन्त्री श्रेष्ठले विमानस्थलमा राखिएको कोरोना भाइरसको पीसीआर परीक्षण जाँच गर्ने प्रकृया पनि हटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आग्रह गरेका छन् । 

चालु आर्थिक वर्षको ७ महिनामा मात्र ३ लाख ५० हजार भन्दा धेरै श्रमिकले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए । लामो लाइन बसेर श्रम स्वीकृतिको छाप लगाउनु पर्ने नियमका कारण सास्ती बेहोर्दै आएका श्रमिक श्रम डेस्क हटाइएपछि खुसी भएका छन् ।