काठमाडौं / गृह मन्त्रालयले सेवामा हाजिर नहुने दुईजना प्रहरी निरीक्षकलाई चित्तबुझ्दो स्पष्टीकरण नआए सेवाबाट हटाउने भएको छ ।
गृहले दिइएको सातदिनको समयसीमाभित्र चित्तबुझ्दो जवाफ नआए उनीहरुलाई सेवाबाट हटाउने भएको हो । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा। विशालजंग ठकुरी र कार्तिकेश झालाई सेवामा अनुपस्थित हुनुको कारण सोधेको छ ।
गृहका अनुसार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत् नुवाकोटका ठकुरी ८ कात्तिकदेखि अस्पतालमा हाजिर भएका छैनन् । त्यस्तै, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा दरबन्दी रहेका झा २२ कात्तिकबाट कार्यालयमा हाजिर छैनन् ।
सातदिनभित्र स्पष्टीकरण पेश नगरे दुबैलाई ‘भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी सेवाबाट हटाउने’ गृहसचिवस्तरीय निर्णय भएको छ ।