काठमाडौँ / खुम्बुपासाङल्हामु गाउँपालिका–२ स्थित तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकै हरियाली सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । चार दिनपछि नियन्त्रणमा आएको डढेलो खुम्बुपासाङल्हामु गाउँपालिका–२ का वडाध्यक्ष आङ्फुर्वा शेर्पाले जानकारी दिएका छन् ।

तीव्र वेगको हावाका कारण डढेलो नियन्त्रणमा लिन कठिन भएको अध्यक्ष शेर्पाले बताएका छन् । नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी र गाउँपालिकाको सहकार्यमा डढेलो नियन्त्रणमा आएको शेर्पाले बताएका छन् ।

OM Sai Pathibhara Hospital

डढेलो नियन्त्रणमा लिन नसकेपछि सोमबारदेखि हेलिकोप्टरको प्रयोग गरेको स्थानियको भनाइ रहेको छ । भीर भएकाले मानिस गएर डढेलो नियन्त्रण गर्न समस्या भएपछि हेलिकोप्टरको प्रयोग गरेको खुम्बुपासाङल्हामु गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले जानकारी दिएका छन् ।

गाउँपालिकाको पहलमा ल्याइएको हेलिकोप्टरले ८४ हजार लिटर पानी प्रयोग गरेर डढेलो नियन्त्रणमा ल्याएको वडा अध्यक्ष शेर्पाले बताएका छन् । डढेलो तीव्र गतिमा फैलिँदा धुवाँका कारण सोमबार बिहान करिब एक घण्टा तेन्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गरिएको थियो । 

डढेलोका कारण सल्ला, उत्तिसलगायत विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भए पनि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । महाकुलुङ गाउँपालिका–५ मा पर्ने थोकोपैस देवाखर्क सामुदायिक वनमा लागेको डढेलो करिब सात घण्टापछि नियन्त्रणमा आएको छ । मंगलबार बिहान करिब ११ बजेबाट सुरु भएको डढेलो साँझ ५ बजेबाट नियन्त्रणमा आएको समेत स्थानीयवासीले बताएका छन् ।