झापा / बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ९ खैरेनीमा घरमा आगो लाग्दा भित्र सुतिरहेका बालकको मृत्यु भएको छ ।
बर्दिया जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार स्थानीय सानु चौधरीको टिनले छाएको दुईकोठे एकतले कच्ची घरमा मंगलबार राति १० बजे अचानक आगलागी भएको हो । त्यस क्रममा भित्र सुतिरहेका उनका छोरा १४ वर्षीय दिनेश चौधरीको मृत्यु भएको हो ।
उनका अनुसार सानु चौधरीका पत्नी र छोरी छिमेकीको घरमा गएकाले घरमा दिनेश चौधरी मात्र थिए ।घटनाबारे खबर आएपछि प्रहरी चौकी र इलाका प्रहरी कार्यालय मोतिपुर बाट गएका प्रहरी टोलीले स्थानीय, र दमकलको सहयोगमा १०ः५० बजे आगो नियन्त्रणमा लिएका थिए ।
तर भित्र रहेका दिनेश चौधरी जलेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पोस्टमार्टमका लागि शव बर्दिया अस्पताल गुलरिया लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।