लमजुङ / सुन्दर बजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा  जारी गरिएको छ । सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा तनहुँको भानु नगरपालिका–९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मङ्गलवार मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो । 

फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्ययनरत सनिज श्रेष्ठको निधन भएपछि मङ्गलवार मृतकका आफन्तले विद्यालयको लापरवाही भन्दै विरोध गरेका थिए । भीडले हिंसात्मक वा ध्वंसात्मक प्रवृत्ति ल्याउने सम्भावना भएपछि उक्त क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ को धारा ६ को उपधारा १(ख) अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताएका छन् ।

OM Sai Pathibhara Hospital

उनका अनुसार सुन्दरबजार–७ को पूर्व–दक्षिण स्थित पाउँदी पुल, पूर्वतर्फ राइनास तर्फको मर्स्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिकाको वडा नं ९ को मध्यम स्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रको आवास क्षेत्र अगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चार किल्ला क्षेत्रमा कफ्र्यू जारी गरिएको छ ।

सोही विद्यालयका शिक्षक सरोज ओलिया र कक्षा १० मै अध्ययनरत सविन गुरुङसँगै पौडी खेल्न गएका थिए ।  विद्यालयको छात्रवासमा बस्दै आएका श्रेष्ठको पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।