काठमाडौं / परराष्ट्रमन्त्री डा. नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुन गइरहेको अन्तालिया कूटनीतिक मञ्चमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गरेका छन्  । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा खड्का टर्की प्रस्थान गरेका हुन् । 

परराष्ट्रमन्त्रीले यही फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

OM Sai Pathibhara Hospital

विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल हुन लागेको मञ्चमा  ‘रिकोडिङ डिप्लोमेसी’ विषय रहेको छ ।

आज मन्त्री खड्काले गैरआवासीय नेपाली सङ्घ टर्कीका पदाधिकारी र इस्तानबुलमा रहेका नेपाली उद्यमीसँग व्यवसायका अवसरहरू र चुनौतीहरूका बारेमा कुराकानी गर्ने भएका छन् । त्यस्तै नेपाली समुदायले सामना गर्नुपरेका समस्याबारे छलफल गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टर्कीमा रहँदा मन्त्री खड्काले विभिन्न मुलुकका विदेशमन्त्री तथा उच्चपदस्थ व्यक्तिहरूका साथै इस्तानबुल र अन्तालियाका उद्योग वाणिज्य सङ्घका सदस्यहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ । भ्रमणबाट द्विपक्षीय व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी तथा जनस्तरको सम्बन्ध अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

मन्त्री खड्कालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव सेवा लम्साललगायत मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए । परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल फागुन ३० गते स्वदेश फर्कने भएको छ ।