काठमाडौँ / नेपाल राष्ट्र बैंकले पुरानै डिजाइनमा एक रुपैयाँको सिक्का प्रचलनमा ल्याउन लागेको छ । साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रुपैयाँको सिक्का भोलिदेखि प्रचलनमा आउन लागेको हो ।
सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरू राखिएका छन् । नेपालको नक्साको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नलाई एउटा मोटो थोप्लो पनि राखिएको छ ।
साथै त्यहाँ हिमाल ,पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेश सहित लिम्पियाधुरा , लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सासमेत राखिएको छ ।
सिक्कामा चन्द्र , सूर्यका साथै सगरमाथाको आकृति र अंग्रेजीमा सगरमाथा, नेपाल लेखिएको छ । सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ अंकित छ ।