बिर्तामोड / नेकपा माओवादी केन्द्रले मोरङ रंगेली नगरपालिकाका नगरप्रमुख दिलीप बगडीया(अग्रवाल)लाई पार्टीबाट निष्कासित गरेको छ । नेकपा माओवादी केन्द्रले अग्रवालले नेकपा एमाले प्रवेश गर्ने तयारी गरेको पाएपछि उनलाई पार्टीबाट निष्कासित गरेको हो ।

पार्टीविरुद्ध गतिविधि गरेका कारण माओवादी केन्द्र प्रदेश १ ले विज्ञप्ति नै जारी गरी अग्रवालको साधारण सदस्यता समेत खारेज गरेर कारबाही गरेको  छ । अग्रवाललाई नगरपालिका प्रमुखको पदबाट पनि निष्कासन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

OM Sai Pathibhara Hospital

अग्रवाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट रंगेली नगरपालिकाको प्रमुखमा विजयी भएका थिए । उनी बुधबार नेकपा एमालेले रङ्गेलीमा आयोजना गरेको आमसभामा औपचारिक रुपमा एमालेमा प्रवेश गर्ने तयारीमा रहेका छन् । 

अग्रवाललाई पार्टी प्रवेश गराउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार रङ्गेलीमा हुने आमसभामा सहभागी हुने कार्यक्रम रहेको एमाले मोरङले जनाएको छ ।