काठमाडौँ / ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् ।  शुभकामना सन्देशमा उनले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताएकी हुन् ।

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गरेकी छन्।

OM Sai Pathibhara Hospital

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै सन्देशमा उनले नेपाली जनताको दशकौँ लामो राजनीतिक आन्दोलनको प्रतिफलस्वरूप महिला सशक्तीकरणको क्षेत्रमा प्राप्त उपलब्धी विश्व महिला आन्दोलनका लागि प्रेरक मानिएका सन्देशमा उल्लेख गरेकी छन् ।