बिर्तामोड / नेपालगञ्जमा मोटरसाइकलले ठक्कर दिँदा दुई जना घाइते सहित ट्राफिक जाँचमा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको मोटरसाइकलले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकको ‘ड्युटीमा खटिएका प्रहरी हवल्दार भूपेन्द्रबहादुर शाही र प्रहरी जवान नरेशकुमार चौधरीलाई ठक्कर दिएको हो ।
भे१०प ४७५७ नं को मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका अस्थायी प्रहरी पोष्ट राँझा बिटमा कार्यरत शाहीको नेपालगञ्जको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिएका छन् ।
बाँसगढी नगरपालिका–६ बर्दिया निवासी शाहीको उपचारको क्रममा गए राति मृत्यु भएको शाहले बताएका छन् ।
प्रहरी जवान चौधरी र मोटरसाइकल चालकको अवस्था सामान्य रहेको छ भने मोटरसाइकल चालक गेरुवा गाउँपालिका बर्दिया निवासी २४ वर्षीय सन्तोष बम ठकुरीलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक शाहले बताएका छन् ।