काठमाडौँ / राजस्व अनुसन्धान विभागले आज भन्सार छलेर व्यवसाय गर्ने ४ जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले चार करोड ४६ लाख ३७ हजार १८४ बराबरको बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
बूढानीलकण्ठ नगरपालिका–१० कपनका सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका–६ का शैलेश पन्त, काठमाडौँ–५ का रवीन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल काठमाडौँ–७ बस्ने नारायणप्रसाद घिमिरेविरुद्ध मुद्दा दायर गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
उनीहरूले भन्सार शुल्क, अन्तःशुल्क नियमावली, राजस्व चुहावट ऐनविपरीत पैठारी गरी राजस्व छलेको विभागले जनाएको छ । विभागले बख्रेल र पन्तसँग जनही रु एक करोड ४७ लाख ३२ हजार, पाख्रिनसँग रु एक करोड ४३ लाख ९२ हजार ३०६ र घिमिरेसँग रु सात लाख ८० हजार ८१८ बिगो माग गरेको छ ।