बिर्तामोड / नेपाली कांग्रेस जाजरकोटका सचिव हरिचन्द्र बस्नेत हतियारसहित गाउँ डुल्न थालेका छन् । जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष समेत रहेका बस्नेत गाउँमा हुने गरेका अधिकांश कार्यक्रममा हतियारसहित सहभागी हुन थालेपछि स्थानीय त्रसित भएका छन् ।
उनको उक्त क्रियाकलापले नागरिक निकै त्रसित भएका छन् र उनको आलोचना समेत भइरहेको छ । जहिल्यै हतियार साथमा लिएर हिड्ने गरेका बस्नेतलाई रोक्न खोज्दा नमान्ने गरेको एक जनप्रतिनिधिले बताएका छन् ।
अध्यक्ष बस्नेतलाई असुरक्षा हुने कारण भने नभएको स्थानीयले जनाएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले अध्यक्ष बस्नेतलाई त्यस्तो सुरक्षा जोखिमबारे कुनै जानकारी नआएको बताएका छन् ।
बस्नेतले बोक्ने गरेको बन्दुक नेपालगन्जमा दर्ता गरिएको लाइसेन्स प्राप्त बन्दुक हो भन्ने सुनेको आएको शाहीले बताएका छन् । शाहीले लाइसेन्स भएका बन्दुक केही सीमित क्षेत्रमा मात्रै बोक्न पाइने समेत जनाएका छन् । उनले उक्त हतियारको विषयमा बुझ्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् ।