काठमाडौं / जागिर दिने बहानामा पैसा असुल्दै आएका ९ वटा जब सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले आइतबार जब सेन्टरहरूमा एकसाथ छापा मारे पछि पक्राउ गरेको हो ।
उक्त जब सेन्टरहरूले जागिरको लालच देखाएर फाराम भराउने र केही दिन ट्रेनिङ समेत दिएर तर त्यसपछि वास्तै नगर्ने गरेको पाइएको छ ।
जाहेरी आउनेक्रम जारी रहेकाले जब सेन्टरका नाम र सञ्चालकहरूको नाम आउन बाँकी रहेको महाशाखा प्रवक्ता कृष्ण कोइरालाले बताएका छन् ।
विज्ञापन गर्दै विभिन्न बहानामा पैसा असुलेको समेत अनुसन्धान अधिकारीले बताएका छन् । कोटेश्वर, बानेश्वर लगायतका ठाउँमा खुलेका जब सेन्टरहरूमा प्रहरीले छापा मारेको थियो ।
गाउँबाट आएकालाई जागिर दिने बहानामा ठगी गरेको पाइएको अनुसन्धान अधिकृतले जनाएका छन् । प्रतिव्यक्ति ५ सयदेखि ५ हजार रुपैयाँसम्म ठगिएको र एउटा जब सेन्टरले मासिक १० र १५ लाख रुपैयाँ कमाउने गरेको समेत अधिकारीले बताएका छन् ।