सुनसरी / आइतबार राति पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सुनसरीको कोसी गाउँपालिका–४ जुद्धगञ्ज चोकमा भएको मोटरसाइकल दुर्घटनामा आठ जना घाइते भएका छन् । 

कोसी टप्पु वन्यजन्तु आरक्षणबाट निस्केर सडक पार गर्दै गरेको अर्नामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ३ प ८११४ नम्बरको मोटरसाइकल ठोकिदा राति ८ः३० बजे दुर्घटना भएको हो । प्रहरीका अनुसार अर्नामा ठोक्किएपछि अनियन्त्रित बनेर पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकल प्रदेश २–०३–००१५ ह ९३३८ नम्बरको अटोमा ठोक्किएको थियो । 

OM Sai Pathibhara Hospital

सप्तरीका ३६ वर्षीय अटो चालक सुरेशकुमार यादव, अटोमा सवार १८ वर्षीय शैलेश मण्डल, २२ वर्षीय राजेन्द्र मण्डल, २१ वर्षीय प्रतोश मण्डल,  २० वर्षीय ओमप्रकाश मण्डल, १९ वर्षीय जयकरण मण्डल, १० वर्षीय धुरुप मण्डल र मोटरसाइकल चालक १९ वर्षीय रूपेशकुमार मण्डल घाइते भएका छन् । 

सामान्य अवस्थाका घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उपचारपछि केही घाइतेहरू डिस्चार्ज भइसकेका छन् । 

प्रहरीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले एक्कासि अर्नाले सडक पार गर्दा दुर्घटना भएको समेत जनाएको छ । दुवै सवारीसाधनका चालकको साथमा सवारी चालक अनुमति पत्र लाइसेन्स नभएको पाइएको छ ।