काठमाडौं / नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालयले उडानको अनुमति दिएको छ । साउदी अरेबियाको जेनरल अथोरिटी अफ सिभिल एभिएसन्स् रियादले जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले केही समय अघिदेखि नै पत्राचार एवं सम्पर्क गर्दै उक्त उडानको अनुमति प्राप्त भएको हो ।
उक्त उडानको अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्ष तथा अन्य कर्मचारीहरू साउदी अरेबियामा उडान अनुमतिको प्रक्रियाको थालनी गरेका हुन् । निगमले चैतदेखि नै पहिलो चरणमा भने काठमाडौँ–रियाद–काठमाडौँ सातामा तीन दिन उडान गर्ने जानकारी गराएको छ ।
यसअघि साउदीमा हिमालय एयरलायन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ । साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको भएपनि जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन ।
निगम साउदी नगएकै कारण गल्फ एयरले नेपाली कामदारलाई बहराइन हुँदै साउदी अरेबिया ल्याउने-लैजाने गर्न थालेको हो ।