काठमाडौं / प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईबाट हेटौंडा उपमहानगरपालिका-१० कर्रा बस्ने २२ वर्षीय थिल्ले लामा तामाङ र सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय अजय घलेलाई ७ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको बा १९ प ३०४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-१९ फूलबारीबाट सोही उपमहानगरपालिका-१९ पच्चीस घर बस्ने २२ वर्षीय टाइसन कुश्मी चौधरीलाई करिब १ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित शनिबार साँझ प्रहरीले पक्राउ गरको छ । सिमा प्रहरी चौकी बहुलियाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा टाइसन कुश्मीको साथबाट उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका-५ भौसाबारीबाट करिब १२ ग्राम २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद २ हजार ६ सय ९० रुपैयाँसहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश ढकाल समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-५ देउराली डेरा गरी बस्ने २६ वर्षीय चेतन मगरलाई लागूऔषध ३ हजार ६० ट्याब्लेट ट्रामाडोल, १ हजार ७ सय ५० ट्याब्लेट स्पास्पेइन र २ हजार ३ सय १५ ट्याब्लेट डिकोलिकसहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै अस्थाई प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।