झापा / मुस्ताङको थासाङ गाउँपालिका -२ मानापाथी हिमालको फेदमा शनिबार बिहान करिव ४ बजे भीषण हिउँ पहिरो गएको छ । हिउँपहिरोले पुरिएर पानापाथी हिमालको फेदनजिक खर्कको गोठमा रहेका १५ वटा चौँरी मरेको जनाइएको छ ।
थासाङ -२ नाउँरिकोटकी स्थानीय सुशीला गौचन र उनका भाइ नरप्रसाद गौचनको गोठमा रहेका ३९ वटा चौरीमध्ये १५ वटा चौँरी हिउँपहिरोमा पुरिएर मरेको थासाङ-२ बोक्सी खोलाका सुजन गौचनले पुष्टि गरे ।
उनका अनुसार कुल ३९ वटा चौरीमध्ये १४ वटा चौरी जिउँदो भेटिएको र १५ वटा चौँरी हिउँपहिरोमा पुरिएर मरेका छन् भने १० वटा चौरी अझै फेला पर्न नसकेको गौचनले जानकारी दिए । हिउँपहिरोको घटनापछि अहिले त्यसक्षेत्रका स्थानीयवासी र प्रहरीको टोलीले चौरी खोज्ने र घटनाको विवरण संकलन गर्ने काम गरेको उनले बताए ।
थासाङ-२ को गुरुसाङ्वो गुफामाथिको चिप्लुङ लेंकमा नाउरिकोटकी शुशिला गौचन र नरप्रसाद गौचनको चौरी गोठ थियो । गोठमा चौरी हेर्ने गोठाला त्यहाँ नभएको अवस्थामा हिउँपहिरो गएको चौरी धनी सुशीला गौचनले बताइन् । हिउपहिरोले चौरी गोठ पुरै पुरिएको र आफ्नो चौरी गोठमा लाखौँका क्षति पुगेको उनले बताइन् । स्थानीय बासिन्दा घरमा सुतिरहेको अवस्थामा हिउँपहिरो गएकाले जनमानसमा त्रास नभएको उनले खुलाइन् ।
यसअघि गत कार्तिकको तेश्रो साता उक्तक्षेत्रमा भीषण हिउँपहिरो गएको थियो । त्यसबेला बिहान करिव ११ बजे हिउँपहिरो गएपछि स्थानीयबासीमा भागदौड मच्चिएको थियो । थासाङ-२ कोवाङ स्थित जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका शिक्षक, र विद्यार्थी भागदौड हुँदा ९ जना घाइते भएका थिए ।
त्यसक्षेत्रमा दशकौँदेखि पटक-पटक हिउँपहिरो जाने गरेको थासाङ-२ सौरुका स्थानीय सोजन हिराचनले जानकारी दिए । उनले हिउँदयामको चिसो मौसममा पनि हिउँपहिरो जानु अनौठो घटना भएको बताए । त्यसक्षेत्रमा पटक-पटक हिउँपहिरो जाने गर्दा खर्कको दर्जनौं गोठमा रहेका याकचौरी जोखिममा परेको उनले बताए ।