झापा / महोत्तरीमा आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति भएको छ ।  जिल्लाको मटिहानी नगरपालिका– ८ स्थित बजारमा रहेका पसलमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय जगदिशप्रसाद गुप्ताको दुईतले घरमा मटिहानी नपा –७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा आज बिहान ७ बजे विद्युत् सर्ट भई आगलागी हुँदा पसलभित्र रहेको रु २५ लाख मूल्य बराबरको मालवस्तु जलेर नष्ट भएको हो । 

OM Sai Pathibhara Hospital

सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा रु डेढ करोड बराबरको धनमाल क्षति भएको उनको भनाइ थियो । 

मटिहानी नगरपालिकासँग वारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको वारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीमा कुनै प्रकारको मानवीय तथा पशुको क्षति नभएको प्रहरीले जनाएको छ ।