झापा / रौतहटको देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
उनलाई आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट प्रहरी नायब उपरीक्षक पुष्प मल्लको नेतृत्वमा आएको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको हो ।
उनको साथबाट दुई लाख पचास हजार नगद र दुई लाख पचास हजारको चेक फेला परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए ।
अख्तियारको टोलीले नगर प्रमुख पटेलसहित योजना प्रमुख, लेखापाल र मेयरका स्वकीय सचिवलाई पनि टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको उनले बताए ।
सोही नगरपालिकाको वडा नम्बर १ का वडाअध्यक्ष शेख नुरुल्लाहसंग घुस बापतको रकम मागेको अख्तियारमा गुनासो आएपछि घुस सहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।