काठमाडौँ / पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेल यस वर्षको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । महेन्द्रनारायण निधिको १००औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले खरेलसहित झापाका पुराना कांग्रेस नेता पूर्णानन्द शर्मा दाहाललाई पनि नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गरिरेकी छन् ।
यसैगरी राष्ट्रपति भण्डारीले यस वर्षको प्रेमसागरी देवी निधि पुरस्कारबाट सरस्वती चौधरी र सुवर्ण ज्वारचनलाई नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा महेन्द्रनारायणले युवा वस्थादेखि गरेको संघर्षको चर्चा गरिन् ।
उनले अहिंसात्मक आन्दोलनका पक्षपाती निधिले सधैँ सत्य, न्याय र समानताका पक्षमा आफूलाई उभ्याएर एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिन् ।