बिर्तामोड / मोरङको सुन्दरहरैचा नगरपालिका-१९ बिराटचोकमा सञ्चालित नेति फर्मा र  डे – ड्रिम मेडिसिन सेन्टरका सञ्चालकलाई ठुलो परिणामको अबैध औषधी सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई पक्राउ गरे सँगै उक्त औषधी खरिद गरी लागूऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् ।
उक्त दुईवटा मेडिकलबाट चिकित्सकको अनुमति बिना अवैध रुपमा महङ्गो मूल्यमा  लागूऔषध दुर्व्यसनीमा लागेका ब्यक्तिहरूलाई औषधी अनधिकृत रुपमा बिक्री बितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलाय विराटनगरको आर आई टी समुह र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले हिजो सोमवार उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मेडिकल सञ्चालक सुन्दरहरैचा नगरपालिका-१० का ४५ वर्षीय शुसिल काफ्ले र निजको श्रीमती ३२ वर्षीया गोमा कार्की तथा  सेवन कर्ताहरू सुन्दरहरैचा-१ का २३ वर्षीय सनम खवास, सुन्दरहरैचा-१० का ३० वर्षीय अरुण राई, ३५ वर्षीय सनम तामाङ , सुन्दरहरैचा-९ का २४ वर्षीय सुवास राई, २२ वर्षीय जुसन सुनाम, ३१ वर्षीय निमेश परियार र ३४ वर्षीय अनुप खड्का रहेका छन् ।
उक्त दुईवटा मेडिकलबाट प्रहरीले औषध  बरामद गरेको छ । यसरी अनधिकृत रुपमा दुर्व्यसनीमा लागेका ब्यक्तिहरूलाई औषधी बिक्री बितरण गर्ने दुबै मेडिकल सञ्चालकलाई ठूलो परिणामको औषधीहरू सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।