बिर्तामोड / मोरङको केरावारी गाउँपालिका ८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ वर्षीय बाबुराम भट्टराईको हत्या भएको खुल्न आएको छ ।
उक्त घटनामा संलग्न केरावारी गाउँपालिका ३ का ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरे सँगै सो कुरा खुल्न आएको हो । माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो । शव फेला परेको जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी सूक्ष्म रुपमा गहन अनुसन्धान शुरु गरेको थियो ।
अनुसन्धानको क्रममा भट्टराई पौष २७ गते देखी नै बेपत्ता भएको र पौष २८ गते लिम्बू सँग वादविवाद भएको तथा लिम्बुले फलामको रड प्रयोग गरी भट्टराईको हत्या गरेको खुल्न आएको थियो । यसरी हत्या गरी घटनालाई ढाकछोप गर्न खाल्डो खनेर गाडेको भन्ने खुल्न आए सँगै लिम्बुलाई पक्राउ गरेको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।