बिर्तामोड / कारागारमा रहेका श्रीमान र देवरलाई कारागारबाट छुटाई दिन्छु भनी प्रलोभनमा पारी रकम ठगी गर्ने १ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी -१२ का मन्दु भनिने जस बहादुर लिम्बू रहेका छन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला कारागार तेह्रथुममा रहेका सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई थुनुवा मुक्त गराई दिन्छौ भनी सुरेन्द्रकी श्रीमती तारा कार्की पुरीसँग ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा लिम्बुलाई पक्राउ गरेको हो ।
लिम्बू र इटहरी - १२ कै भरत चौधरीले आफ्नो न्यायाधीश र प्रहरीसँग राम्रो सम्बन्ध रहेको हुँदा दुबै जनालाई छुटाइदिने प्रलोभनमा पारी रकम ठगी गरी फरार भएका थिए ।
घटनाको जानकारी पाए लगत्तै उनीहरूको खोजतलासमा खटिएको प्रहरी टोलीले रकम ठगी गर्ने मध्येका लिम्बुलाई पक्राउ गरेको तथा अर्का आरोपितको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालयले इटहरीले जनाएको छ ।