बिर्तामोड / इलामको सूर्योदय नगरपालिका -३ स्थित फिकल -पशुपतिनगर सडक खण्डमा बलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सूर्योदय नगरपालिका -१ का २३ वर्षीय सौगात राई रहेका छन । हिजो बेलुका साढे ४ बजे पशुपतिनगर तर्फ जाँदै गरेको को १ ज ३५८९ नम्बरको बलेरो गाडीले विपरित दिशाबाट आँउदै गरेको मे ११ प ८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सौगात राई र पछाडि सवार रहेकी २५ वर्षीया सम्झना राई घाईते भएका थिए ।
घाईते दुवैलाई उपचारको लागि बिर्तामोड स्थित बि एण्ड सी अस्पताल लगिएकोमा सौगात राईको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बलेरो र चालकलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।