झापा / सोलुखुम्बुमा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका –१ खोर्दाका २६ वर्षीय तेजबहादुर लामिछानेको भिरबाट लडेर मृत्यु भएको हो ।

लामाको लबुचे भिरबाट र लामिछानेको सोताङ गाउँपालिका –१ मा रहेको हुँगा दूधकोसी सामुदायिक वनको भिरबाट लडेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक  कवित कटुवालले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार लामा बिहीबार छोराको घर जान्छु भनेर हिँडेका थिए । तर, तीन दिनसम्म गन्तव्यमा नपुगेपछि उनको खोजी गरिएको थियो । खोजतलास गर्दा लामाको भिरबाट लडेर मृत्यु भएको अवस्थामा शनिबार शव फेला परेको प्रहरीले जनाएको छ । 

त्यस्तै, लामिछानेको सामुदायिक वनमा घाँस काट्न जाने क्रममा शनिबार भिरबाट लडेर मृत्यु भएको हो ।