झापा / धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा पर्वतबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
बाग्लुङस्थित बाग्लुङ नगरपालिका –६ घर भई हाल पर्वतको कुश्मा नगरपालिका –४ डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन् । उक्त घटनाको सूचना प्राप्त भएपछि प्रहरीले राजुलाई पक्राउ गरेको हो ।
शुक्रबार बिहान १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार मृतक महिलाको शरीरमा निलडाम सहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ । प्रहरीले आरोपित श्रीमान् राजु परियारसहित घटनास्थलबाट खुर्पा, हँसिया पनि नियन्त्रणमा लिएको छ ।