झापा / जनकपुर उपमहानगरपालिका –६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गणेशमान चारनाथ नगरपालिका –१० डुमरीया बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भई हाल जनकपुर उपमहानगरपालिका –८ डेरा गरी बस्ने २० वर्षीया किरण राम र जनकपुर उपमहानगरपालिका –७ भ्रमपुरा डेरा गरी बस्ने महोत्तरी लोहरपट्टी नगरपालिका –४ घर भएका २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् ।
उक्त पोखरी छेउमा ६ वर्षीया दिदीले खेलाई रहेको अवस्थामा ती बालकलाई अन्दाजी ३५ वर्षीया महिलाले लिएर भागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका –१९ बेंगा शिवपुर पिपराढीस्थित हाँस तथा भैँसी फारमको पछाडि खेतमा मनिषा देवी मुखियालाई भाग्दै गरेको अवस्थामा ती बालक समेत २ वटा बच्चा सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा मनिषा देवीले बालककी दिदीलाई ५० रुपैयाँ दिई कुरकुरे किन्न पठाई बच्चा लिई भागेको खुल्न आएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।