तुलसीपुर / दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित जुत्ता गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।आगलागीमा परी एक जना घाइते भएका छन् ।
आगलागी हुँदा धुवाँमा निसासिएर चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका हुन् ।
आगो कम भएपछि बिहान साढे ७ बजेतिर घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको उनले बताएका छन् । मृतकको पहिचान हुन बाँकी रहेको छ । त्यस्तै घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।
विद्युतको मिटर पड्किंदा आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा पनि क्षति भएको हो ।
बिहान २ बजेदेखि सुरु भएको आगलागी इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले नियन्त्रणमा लिइएको छ ।