काठमाडौं /  देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । उक्त प्रणालीका कारण हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश पहाडी भू- भागहरूमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अन्य भू- भागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका भूभागमा हुस्सु लागेको छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै आज बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाले जनाए अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, बागमती तथा प्रदेश १ का केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू– भागका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ ।

त्यस्तै आज राति देशका अधिकांश पहाडी भू- भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू– भागमा आंशिक बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बागमती तथा प्रदेश १ का पहाडी भूभागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।